काठमाडौं, ९ भदौ । सोमबार कैलालीको टीकापुरमा भएको विभत्स घटनापछि बुधबार बसेको संविधानसभा बैठकमा प्रधानमन्त्री सुशील कोइराला लगायतका विभिन्न राजनीतिक दलहरुले संविधान निर्माण कार्य नरोकिने बताएका छन् ।

बुधबार बसेको संविधानसभा बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले नेपालको संविधानको परिमार्जित बिधेयक २०७२ छलफलका लागि पेश गरेपछि सुरु भएको विधेयक माथिको छलफलमा सहभागी हुँदै उनीहरुले असन्तुष्टिका कुरा वार्ताबाट समाधान खोज्न पनि अपिल गरेका छन् ।

सोही क्रममा प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट दलहरुलाई वार्तामा आउन आह्वान गर्दै संविधान निर्माणको प्रक्रिया भने नरोकिने पनि स्पष्ट पारेका छन् ।संविधान सम्झौताको दस्तावेज भएको र परिर्माजन गर्दै अघि बढ्न सकिने भन्दै कोइरालाले आफ्ना कुरा शालिनताका साथ राख्न सभासदहरुलाई आग्रह पनि गरे ।

प्रधानमन्त्री कोइरालाले बताए । कोइरालाले केही ठाउँमा नसोचेका दुर्घटना भएको भन्दै उनले मुलुकमा अमनचैन कायम गरेर संविधान जारी गर्नु पर्ने भएकाले शान्ति भड्काउने कार्य नगर्न आग्रह गरे । कैलाली टीकापुरमा सोमबार भएको घटनाप्रति इंकित गर्दै प्रधानमन्त्री कोइरालाले देशमा जति हिंसा भड्किन्छ, त्यसले देशलाई नै घाटा हुने भएकाले त्यस्ता गतिविधि नगर्न पनि सबैलाई अपील गरे ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा भड्काउने र संविधान निर्माण प्रक्रिया असफल बनाउने षड्यन्त्र भएको बताएका छन् । कैलाली लगायतका स्थानमा भएको घटना त्यसको उदाहरण भएको उनको भनाइ छ ।

उनले संविधान निर्माणको अन्तिम चरणमा पुगेका बेला फरक मत भिन्नता देखिनु स्वभाविक भएको तर संविधान बिथोल्न खोज्नेहरुले टीकापुर घटना घटाएको आरोप दोहोर्याए । सबै नेपाली एक हुनुपर्नेमा उनको जोड छ ।

कैलालीमा धोकापूर्ण ढंगले प्रहरीमाथि हमला भएर हत्या भएको भन्दै उनले जातीय वा साम्प्रदायिकता भड्काउन खोज्नेहरुबाट सजग रहनु पर्ने बताए । नेपालको परिवर्तनलाई संविधानको मस्यौदाले आत्मसात गरेकाले पनि उत्पीडन, असमानता, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाभिमानको पक्षमा मस्यौदा उभिएको उनको विश्वास छ ।

यसैगरी, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत थारु र मधेसी मोर्चालाई संविधानसभाबाट अलग नहुन अपील गरेका छन् । जायज माग सम्बोधन गर्ने ठाउँ बाँकी रहेको भन्दै उनले संविधानको विधेयक परिर्माजन गरेर माग सम्बोधन गर्ने बाटो बाँकी रहेको जानकारी गराए ।

प्रक्रियामा थारु समुदायले अपमानित महसुस गरेको र मधेसमा पनि आवाज उठेको बताए प्रचण्डले थारु र मधेसी मोर्चाका साथीहरु जिम्मेवारी बोधका साथ वार्तामा आउन आह्वान पनि गरे । इमान्दारीताका साथ वार्ताको पहल गर्न सरकारलाई पनि आग्रह गर्दै उनले अब संविधान निर्माण प्रक्रिया नरोकिने पनि स्पष्ट पारे ।

यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रबारे छलफल नै हुन सक्दैन भन्ने अधिकार मस्यौदा समितिको सभापति सिटौलालाई कसले दियो भनेर प्रश्न गरेका गरे ।

प्रमुख चार दलका शीर्ष नेताहरुले संविधानसभालाई राणाकालिन भारदारी बनाउन खोजेको आरोप लगाउँदै उनले राणाकालीन फर्मान सुनाउने रहरबाट मुक्त हुन सिटौलालाई आग्रह गरे ।संविधानको विधेयक प्रस्तुत गर्दै गर्दा मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले राजतन्त्रबारे छलफल हुन नसक्ने बताएका थिए ।

यसैगरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले थारु, मधेसी र जनजाति समुदायलाई सम्बोधन नगरे संविधानसभा छाड्ने चेतावनी दिए । सात प्रदेशले समाधान नदिने भन्दै उनले यो निश्चित सिद्धान्त र मान्यताबाट नआएको आरोप पनि लगाए ।

आठ प्रदेशले मात्र थारु, मधेसी र जनजातिलाई सम्बोधन गर्न सक्ने धारणा दोहोर्याएका उनले मस्यौदा समितिले ल्याएको संविधानको विधेयक परिर्माजनसहित मात्र पास गर्नु पर्ने बताए । कैलालीको टीकापुरमा भएको घटनालाई कसैले राम्रो मान्ने नसक्ने भन्दै गच्छदारले अहिले थारुहरुको घर जलाइएको भन्दै यस्तो हिंसात्मक प्रवृत्तिलाई रोक्नुपर्न धारणा राखे ।

Post a Comment

 
Top